नेपालका लागि नयाँ अमेरिकी राजदूत प्रस्ताव

काठमाडौं, १५ चैत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन्। राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन्।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ। यसअघि उनी यो क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री थिए।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) थिए। रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका थम्पसनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। थम्पसनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।

उनलाई रोमानियन र बंगाली भाषा पनि बोल्न आउने ह्वाइटहाउसले उल्लेख गरेको छ। मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउन लागेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति