सांसद साहमाथि आक्रमण, उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं, १२ चैत्र । जनता समाजवादी पार्टी(जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो ।

टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो ।

सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।झडपमा ढुंगा प्रहार सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

सांसद साहका आफन्त अनिल साहले भने सांसद साहको अगुवाइमा जसपाले नगरमा विरोध र्‍याली निकालिरहेको बेलामा २५–३० जना‍बाट आक्रमण भएको बताएका छन् । उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, तर अवस्था गम्भीर छ । काठमाडौं रिफर गरेकाले उहाँ बाटोमा हुनुहुन्छ, उनले भने । घटनापश्चात प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति