चिनियाँ विदेश मन्त्री वाङ दिउँसो ३ बजे काठमाडौं ओर्लिँदै, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाडौं, ११ चैत्र । चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वतालिका भन्दा दुई घण्टा अगाडि नै काठमाडौं आउदै छन् । विदेश मन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमण टोली अहिले दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ ।

उनको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्ने छन्। भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ ।

त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट हुनेछ । भेटमा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । त्यस्तै पर्सि आइतवार बिहान वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट्ने तालिका छ ।

तीन दिने भ्रमणका क्रममा उहाँले राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेट्नुहुनेछ । उनको भ्रमणलाई मध्यनजर गरेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीको विशेष टोली खटिएको छ ।अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने क्रममा चीनले पनि विभिन्न प्रतिक्रिया दिएको थियो । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको नेपाल भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने नेपालको तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति