काठमाडाै, ९ चैत । हरेक मार्च २३ दिन नेपालमा पनि “पूर्व सूचना र पूर्व तयारी” भन्ने मुल नाराका साथ विविध कार्यक्रमहरु आयोजना गरी विश्व मौसम दिवस, २०७८ मनाईदैँछ ।
यस दिवसका अवसरमा जल तथा मौसम विज्ञान विभागले मौसम, जलवायु र जल विज्ञानका विविध क्षेत्रमा आवद्ध व्यक्तित्व, संघसंस्था र सरोकारवालाहरु लगायत जल तथा मौसमसंग चाँसो राख्ने सम्पूर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्दै जल तथा मौसम सेवाको उत्पादन र प्रयोगलाई अभिवृद्धि तथा दिगो विकास एवं सम्वृद्धि र विपद् जोखिम न्यूनिकरणमा योगदान पुर्याउन आग्रह गरेकाे छ । जलवायु परिवर्तनको कारणले जल तथा मौसमजन्य विषम घटनाहरु बारम्बार अस्वभाविकरुपमा घट्ने तथा विगतको भन्दा थप विनासकारी रुपमा देखापर्नुका साथै मौसमी चक्रको प्राकृतिक स्वरुपमा समेत परिवर्तन भैरहेको देखिन्छ। जसको फलस्वरुप, नेपालमा पनि अत्यधिक गर्मी, सुख्खारखडेरी, भारी वर्षा, शितलहर, चट्याङ, बाढी जस्ता विषम एवं नयाँ प्रकृतिका मौसमी प्रकोपहरुमा बढोत्तरी तथा यस्ता मौसम र जलवायुजन्य प्रकोपबाट सिर्जित विपदको जोखिम पनि प्रत्येक वर्ष बढोत्तरी भइरहेको छ। जीवन र जीविकोपार्जनलाई यस्ता विपदका जोखिमको संकटबाट बचाउन प्रभावमा आधारित पूर्वानुमान सहितको पूर्व सूचनाको अत्यन्त महत्व छ। यस्ता सूचना तथा पूर्वानुमानहरु सर्वसाधारण र विपद् व्यवस्थापनमा सम्वद्ध निकायहरुका लागि विपद् जोखिमको न्यूनीकरण तथा रोकथाम, पूर्व तयारी र प्रतिकार्यका निमित्त कोशेढुङ्गा सावित हुने गर्दछन। सही समयमा सही पूर्वानुमान र सूचनाको संप्रेषण तथा त्यसको प्रयोग गर्न हामी सदैव तयार रहन र सक्षम हुन सकेमात्र जल तथा मौसमजन्य प्रकोपवाट जनधनको सुरक्षा गर्न सकिने भएकोले हामी सबैले जलवायु उत्थानशिल समाज निर्माणमा योगदान गर्न आवश्यक देखिन्छ।
प्रतिक्रिया