ललितपुर, ८ चैत । ठेकेदारले समयमा काम नगर्दा धुलोले हैरान बनाएको भन्दै ललितपुरको सुनाकोठीका स्थानीयवासीले सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द गरेका छन् ।
समयमै सडक बनाउन दबाब दिँदै उनीहरूले आज मङ्गलवार बिहान एक घण्टा धिमे बाजा बजाएर विेरोध जनाएका ललितपुर महानगरपालिका २७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए । डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले लामो समयसम्म नबनाएको सुनाकोठीका बासिन्दाको गुनासो छ । एक वर्ष अगाडि यो सडक कालोपत्र भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि यो सडक खण्डमा स्थानीयवासीले निरन्तर आन्दोलन गर्दै आएका छन् । स्थानीयवासीको निरन्तरको विरोधपछि गएको मङ्सिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर मङ्सिर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाध्यक्ष महर्जन बताउन्छन् ।
ठेकेदारले काम गर्छ होला भनेर वैकल्पिक बाटो भएर गाडी चलाउन आग्रह गर्दै वडा नम्बर–२७ ले सूचनासमेत निकालेको थियो । तर पनि ठेकेदार कम्पनीले काम सुरु गरेको छैन । सडक धुलाम्मे छ । धुलोका कारण स्वास्थ्यमा समेत समस्या देखिन थालेको स्थानीयवासीको गुनासो छ । सडक विभागले ठेक्का लगाएको हुँदा थप विषयमा आफूहरूलाई जानकारी नभएको वडाध्यक्ष महर्जनले बताए ।
प्रतिक्रिया