काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्बाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत माओवादी जनयुद्धका घाइते भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेपछि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निःशुल्क र सहज उपचार प्रबन्धको लागि ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं। ६ का निवासी राना तत्कालीन जनमुक्ति सेनाका सेक्सन कमान्डर समेत हुन् । मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनलाई गोलीको छर्रा लागेको थियो । चोट बल्झिएपछि रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । रानाको दुबै खुट्टा शल्यक्रिया गरेर फालिएको छ ।वीरमा पुगेका प्रचण्डले रानाकी श्रीमती वर्षा र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएका थिए । भेटपछि प्रचण्डले उपचारमा सहयोग गर्ने वचन दिएका थिए ।
‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ,’ प्रचण्डको भनाइ थियो, ‘सरकारसँग पनि कुरा गर्छौं, खर्चको अभाव हुन दिइन्नँ ।’प्रचण्डले वीर अस्पतालमै उपचाररत गोरखा फुजेलका तिलराम देवकोटा लगायतका बिरामीहरुसँग पनि भेटेर गुनासा सुनेका थिए । बिरामी र तिनका आफन्तहरुले डाक्टरहरु ड्युटीमा नरहने, विरामीलाई प्राइभेट अस्पताल रेफर गर्ने, अस्पतालमा एमआरआई मेसिन बिग्रेको भनेर निजी ल्याबमा पठाउने, अस्पताल फार्मेसीले उपलब्ध गराउने भनेको निःशुल्क औषधि पाउन मुस्किल हुने, महँगो औषधि निशुल्कको लिस्टमा नहुने, अप्रेसनमा प्रयोग हुने उपकरणमा चर्को दलाली हुने आदि गुनासो गरेका थिए ।लगतै बालुवाटार पुगेर प्रचण्डले भक्त रानाको उपचार र अन्य विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।प्रधानमन्त्री देउवासँगको छलफलमा ध्यानाकर्षण गराइएका विषय भनेर मल्लले पाँचवटा बुँदाहरु सामाजिक सन्जालमा राखेका छन् ।
प्रतिक्रिया