काठमाडौं, ७ चैत । मेयर बन्नुपर्छ की भनाईले चर्चामा रहेका अभिनेता राजेश हमाल पुर्ख्यौली घर नवलपरासी पुगेका छन् । त्यही समयमा उनले आज विहान ७ देखि ९ बजे सम्म नारायणी नदीको सरसफाइ गरेका छन् ।
अभिनेता हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका हुन् । नदी किनारमा जम्मा भएका प्लास्टिक जन्य र दाह संस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका थिए । सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको सरसफाइ कार्यक्रममा राजेश हमाललाई स्थानीयले पनि साथ दिएका थिए । हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाई गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामीले केहीबेर सफाई गरेर सधैंका लागि सफा हुने होइन । सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो । यहाँ घुम्न आउने पर्यटकहरु पनि यो कुरामा सचेत हुनुपर्छ ।’ उनले आफैंले सफारी गाडी हाँकेर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।
प्रतिक्रिया