कांग्रेसलाई पुनको चेतावनी : सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं

बुटवल, ४ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उनले फेरि सत्ताबाट सडकमा पुर्‍याउन सक्ने बताएका छन् ।

माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चेतावनी दिए ।‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भने, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ ।

कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए ।केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने÷के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी समेच गरे ।

स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादनका आधारमा घोषणा गरेको पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेश्रो र पाचौं माओवादी केन्द्रले नेतृत्व गरेका भएको उनले सुनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति