बालिकालाई २१ घण्टासम्म बाँधेर यातना

रामेछाप, २ चैत्र । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरमा एक दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिइएको छ ।स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया सरिता नेपालीले घरभित्र पसेर दही चोरेर खाएको निहुँ यातना दिइएको हो ।

यातना दिने स्थानीय ६३ वर्षका शेरबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार श्रेष्ठले दलित भएर घरभित्र छिरेको भन्दै बालिकालाई हात र कम्मरमा डोरीले बाँधेर कुटपिट गरेका थिए ।बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्यान्न १२ बजेसम्म यसरी बाँधेर राखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिए । पिडक शेरबहादुर श्रेष्ठले आरोप स्वीकारेका छन् ।प्रहरीका अनुसार उनले उल्टै पीडित बालिकाको परिवारले आफ्नो घरमा चोखोनितोका लागि रुद्री लगाउने खर्च व्यहोर्नुपर्नेसमेत मागसमेत गरेका छन् । बालिकालाई बाँधेर राखेको थाहा पाएपछि तत्काल मुक्त गर्न आग्रह गर्दा नमानेको वडा नम्बर ६ का वडाध्यक्ष गोपालबहादुर माझीले जानकारी दिए ।

उनले भने, ‘मैले खबर पाएपछि स्थानीय जनप्रतिनिधिलाई बालिकालाई उद्धार गर्न आग्रह गरेँ । तर, उनीहरुले शेरबहादुरका दम्पतीले नमानेको सुनाए । त्यसपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी सापलाई फोन गरेर उद्धार गर्न भनेको हुँ ।’ मंगलबार मध्यान्ह १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्दार गरेको नगर कार्यपालिका सदस्य उद्धव रम्तेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा सामान्य अवस्था रहेको र पीडकले दलित भएकै कारण बाँधेर यातना दिएको भन्ने जानकारी पाइएकाले उनीमाथि जातीय छुवाछुत विरुद्धको कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी प्रमुख डीएसपी थिङ्ले बताए । बालिकाका आफ्न्तले उजुरी दिने तयारी गरिरहेको उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति