काठमाडौं, ३० फागुन । फिल्म ‘हिजो आजका कुरा’को प्रदर्शन मिति २०७७ बैशाख १२ गतेलाई घोषणा गरिए पनि कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्मको रिलिज स्थगन भएकाे थियाे । अब आउँदो असोज २८ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।
मोफसलमा एफडी र राजधानीमा बीके फिल्मस्ले फिल्मलाई वितरण गर्नेछ । १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाम सापटी लिएर निर्माण भएको फिल्मले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ । साकार पन्तले फिल्मका निर्देशक हुन् । फिल्ममा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको अभिनय रहेको छ । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष सन्त र साकार पन्तको रहेकाे छ । पटकथा सन्दीप किस्नाले तयार पारेका हुन् । फिल्मको ‘माया जदौ’ गीतले राम्राे प्रशंसा बटुलेकाे छ ।
प्रतिक्रिया