‘कोरोनाले मृत्यु हुने ३ गुणा बढी’

वासिङ्टन — कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हाल रेकर्ड गरिएको भन्दा ३ गुणा बढी रहेको दाबी सोधकर्ताहरूले गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणलाई महामारी घोषणा गरेको समय सन् २०२० देखि २ वर्षसम्म १ सय ९१ मुलुकमा गरिएको उक्त अध्ययनले एक करोड ८० लाखभन्दा बढी मानिसले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गरेको छ ।

यो अध्ययन अमेरिकाको वासिङ्टन विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयले यो तथ्यांकलाई कोरोनाका कारण विश्वभर मृत्यु भएकाको सही आँकडा भनेको छ । यसमध्ये केहीको मृत्यु कोरोना भाइरसका कारण र अन्यको संक्रमणसँगै अन्तरसम्बन्धित रहेर भएको बताइएको छ । यसअघि नै मुटु, फोक्सोसम्बन्धी दीर्घरोग भएकाहरूलाई कोरोना संक्रमण घातक देखिएकाले पनि त्यस्ता व्यक्तिको मृत्युमा कोरोना प्रमुख कारक रहेको पाइएको अध्ययनको निष्कर्ष छ ।

विभिन्न मुलुकका सरकारी वेबसाइट, वर्ल्ड मोर्टालिटी डाटाबेस, ह्युमन मोर्टालिटी डाटाबेस र युरोपियन स्टाटस्टिकल अफिसलगायतको तथ्यांकका आधारमा सोधकर्ताहरूले मृतकको यकिन संख्या गणना गरेको बताएका छन् । अधिक मृत्यु संख्या मुलक र क्षेत्रअनुसार फरक–फरक हुन सक्ने पनि बताइएको छ । ‘तर विश्वभरको समग्र तथ्यांक हेर्दा कोरोना संक्रमणका कारण १ लाख जनामा १ सय २० जनाको मृत्यु भएको पाइएको छ,’ अध्ययनमा भनिएको छ, ‘२ वर्षमा विश्वभर करिब ५९ लाख जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ । तर, हाम्रो अध्ययनमा १ करोड ८२ लाख जनाको मृत्यु भइसकेको देखिएको छ । यो हालको भनिएको तथ्यांकभन्दा ३ गुणा बढी हो ।’अतिरिक्त मृत्यु संख्याको गणना साता, महिनाभन्दा पनि २ वर्षको पूरा अवधिलाई आधार मानेर गरिएको जनाइएको छ । ‘कोरोनाका कारण भएको मृत्यु संख्या गणना समयान्तर र अनेक विसंगतिका कारण धेरै फरक परेको देखिन्छ,’ सोधकर्ताहरूले भनेका छन् । ‘द लान्सेट’ मा प्रकाशित उक्त अध्ययनअनुसार ल्याटिन अमरिका, युरोप, अफ्रिकाका न्यून आयस्रोत भएका मुलुकमा बढी मृत्यु भएको छ । इटाली, अमेरिकालगायत केही उच्च आयस्रोत भएका मुलुकमा पनि धेरैको कोरोनाका कारण मृत्यु भएको देखिन्छ । अध्ययनका अनुसार उच्चतम अनुमानित अतिरिक्त मृत्युदर हुने मुलकमा बोलिभिया, बुल्गेरिया, इस्वाटिनी, नर्थ मेसेडोनिया र लेसोथो छन् भने न्यूनतम अनुमानित अतिरिक्त मृत्युदर हुनेमा आइसल्यान्ड, अस्ट्रलिया, सिंगापुर, न्युजिल्यान्ड र ताइवान छन् ।बेलायतमा भने सरकारी तथ्यांक र अध्ययनको तथ्यांक समान पाइएको छ ।

न् २०२० यताको २ वर्षमा १ लाख ७३ हजार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सरकारी तथ्यांक छ । ‘सार्वजनिक स्वास्थ्यसम्बन्धी प्रभावशाली निर्णय लिन महामारीबाट भएको वास्तविक मृत्यु संख्या लिनु महत्त्वपूर्ण हुन्छ,’ अध्ययन प्रतिवेदनका मुख्य लेखक विश्वविद्यालयको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुसनका डा। हाइदोङ वाङले भने, ‘स्विडेन, नेदरल्यान्ड्ससहित केही मुलुकको तथ्यांक अध्ययन गर्दा कोरोना संक्रमण नै धेरैजसोको हकमा मृत्युको कारण थियो । तर, अन्य अधिकांश स्थानका हकमा यो प्रमाणित गर्न हामीसँग पर्याप्त प्रमाण भने छैन ।’ भविष्यमा हुने अध्ययनहरूबाट विश्वभर कति जनाको विशुद्ध रूपमा कोरोनाकै कारण मृत्यु भएको र कति जनाको मृत्युमा अन्य रोग वा संक्रमणको पनि हात थियो भन्ने स्पष्ट हुने उनको भनाइ छ ।

सोधकर्ताहरूले कोरोना महामारीबाट उच्च मृत्यु हुने सम्भावना अब टरेको पनि दाबी गरेका छन् । त्यसका लागि कोरोनाविरुद्धको खोप र नयाँ उपचार विधि मुख्य आधार रहेको उनीहरूको भनाइ छ । तर, महामारी अझै पूर्ण रूपमा मत्थर भइनसकेको र नयाँ खतरनाक भेरिएन्ट उत्पत्ति हुन सक्ने भन्दै सचेत पनि गराएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board