युक्रेनमा युद्धविराम प्रयास विफल

काठमाडौं, २७ फागुन ।  रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको पहिलो चरणको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । दुई नेताबीच बिहीबार भएको वार्तामा युद्धविरामबारे कुनै सहमति भएन ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरहको भएकाले कुनै सहमति नभएको बताएका छन् । यद्यपि, युक्रेनमा मानवीय सहायता उपलब्ध गराउने विषयमा भने दुई पक्ष सहमत भएको कुलेबाले बताए ।

समस्या समाधानका लागि भने आफू पुनः वार्तामा बस्न तयार रहेको उनको भनाइ छ । ‘युक्रेनी नागरिकको पीडा र युद्ध अन्त्य गर्न तथा युक्रेनी भूमिलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त गर्न म यसका लागि सधैं तयार छु,’ उनले भने । रुसको इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसको सैन्य कारबाही योजानाअनुसार नै चलिरहेको दाबी गरेका छन् । युक्रेनलाई हतियार दिएर पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए । युक्रेनले रुसको सुरक्षा चासोप्रति वास्ता नगरेको तथा युक्रेनी भूमिलाई अमेरिकाले जैविक अस्त्र विकास गर्न प्रयोग गरेको उनको आरोप छ ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी फौजको हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न ६ वटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन् । एउटा भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले सुमी, एनर्होडार र किभ आसपासका क्षेत्रबाट बुधबार करिब ३५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका बताएका छन् । अन्य मार्गबाट पनि सर्वसाधारणलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

युक्रेनमा गरेको सैन्य आक्रमणका क्रममा कम्तीमा ५ हजार रुसी सैनिकको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले मृतकको संख्याका आधारमा घाइते हुने सैनिकको संख्या कम्तीमा १५ हजार रहेको अनुमान गरेका छन् । सामान्यतया युद्धमा घाइते हुने सैनिकको संख्या मृतकको संख्याभन्दा तीन गुण हुने गर्छ ।

अमेरिकी दाबी सहि ठहरिए युक्रेन आक्रमणका क्रममा रुसले ठूलो क्षति बेहोरेको देखिएको छ । युक्रेनले भने कम्तीमा १२ हजार रुसी सैनिक मारिएका दाबी गरेको छ । त्यस्तै आफ्ना सैनिकले सयौं विमान तथा हेलिकोप्टर, ट्यांक र सैन्य गाडी ध्वस्त पारेको युक्रेनको दाबी छ । यद्यपि, रुसले आफ्ना ४ सय ९८ सैनिकले ज्यान गुमाएका जनाएको छ । तर युद्धका बेला दुवै पक्षले आफू अनुकूल प्रचार गर्ने भएकाले दुवै देशको दाबी पुष्टि गर्न भने कठिन हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति