सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं, २५ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रायटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधवार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए । उनले कोभिड–१९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्सअन्तर्गतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद दिए । सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिडपछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरे । उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनका कारण सृजित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरिस सम्झौता स्मरणीय रहने बताए । शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताउँदै उनले भने, ‘बुद्धको देशको सभामुखको हैसियतले भन्छु, विश्व शान्तिका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गरौं ।’ भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रायटनले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताए । दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनोट गर्न सकिने उनको भनाइ थियो । प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरूले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरूबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदानप्रदानबाट दुवै संसदका लागि सिकाइको अवसर हुने धारणा राखे । फ्रान्सेली प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष रायटन, सदस्यहरु ग्रेजिएल्ला, निकोलस फोरिसियर र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोर्बाओ सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति