हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे

रसुवा, २४ फागुन । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुने भएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन ।

रसुवाकाे उच्च भागमा अवस्थित पवित्र तिर्थ गाेसाइँकुण्ड यात्राका लागि पछिल्लाे समय हेलिकप्टरकाे आर्कषण बढ्दै गएकाे छ।

स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् । गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन/चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् । हेलिकाप्टरले काठमाडौँको एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पुर्‍याउँछ । दर्शनका लागि आधा घण्टा भन्दा बढी अतिरिक्त समय दिन्छ । बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने गरेको यात्रुहरू बताउँछन् । पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएको छन् ।

समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान महादेव गोसाइँकुण्डमा शिवजी हुनु भएकोले एक पटक भने पनि तीर्थ जानुपर्ने मान्यता रहिआएको छ । प्रत्येक वर्ष गङ्गा दशहरा र जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २०औँ हजार भक्तजन सो क्षेत्र पुग्ने गरे तापनि विगतको कोरोना सङ्क्रमण भएयता हावाइ यात्राको आर्कषण बढेको हो ।रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड तीर्थमा डबुल्की मारेपछि शरीरका रोग हट्ने र पूजाआजा गरेपछि मनोकांक्षा पुरा भई नयाँ सोच विचार आउने, घर परिवारमा सुखशान्ति बढ्ने विश्वास रहिआएको छ । पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखन्छ । पोखरीमा हिउँ जमेको समयमा हवाइमार्गबाट गएका भक्तजनले भगवान विराजमान रहनुभएको पवित्र कुण्डमा हिँड्ने गरेको पाइएकोले यस्ता कार्य नर्गन अनुरोध गरिएको छ । धार्मिक मान्यताअनुरूप कुण्डमाथि हिँड्दा पुण्य प्राप्त नहुने र अर्को तर्फ जमेको हिउँमाथि हिँड्दा हिँड्दै फुटेर गाडिन सक्ने समेत सम्भावना हुने भएकाले गोसाइँकुण्डको तालमाथि नहिँड्न पुजारीले आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति