मल ल्याउन भारतसँग गरियो जीटूजी सम्झौता, यो वर्ष १ लाख ५० हजार टन ल्याइने

काठमाडौं, १६ फागुन।  जीटूजी व्यवस्था (सरकार) मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सो समझदारी पत्र आदान प्रदान गरे । यो सम्झौता ५ वर्षका लागि हुनेछ ।

सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीका कायममुकायम प्रवन्ध संचालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रको आदानप्रदान भएको हो ।

सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो । हस्ताक्षर समारोहमा बोल्दै सचिव चतुर्वेदीले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषि सहकार्य अघि बढ्ने बताए ।दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुन सक्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति