युक्रेनको किएभमा कर्फ्यु हट्नासाथ सुरक्षित क्षेत्रतर्फ जाने पर्खाइमा नेपाली

काठमाडौं, फागुन १६ । युद्धग्रस्त युक्रेनबाट नेपालीहरु छिमेकी देश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरी प्रवेश गर्ने क्रम चलिरहेको छ ।अहिलेसम्म पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरीमा ५८ जना नेपाली प्रवेश गरिसकेका छन् । ९० जना नेपाली सीमाक्षेत्रमा पुगेका छन् । ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् ।

पोल्यान्डमा मात्रै ३० नेपाली प्रवेश गरेका छन् । ७० जना लाइनमा छन् । पोल्यान्डले सीमा क्षेत्रमा रोकी राखेकाले घण्टौँसम्म लाइनमा बस्न नेपाली बाध्य भएका छन् ।सीमा क्षेत्रमा अलपत्र रहेका नेपालीलाई पोल्यान्ड प्रवेशका लागि गैरआवासीय नेपाली सङ्घले समन्वय गरिरहेको छ । त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् ।स्लोभाकियामा गैरआवासीय नेपाली सङ्घले आईओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको बर्लिनमा रहेको दूतावासलाई जानकारी दिएको छ ।

युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छोडेकासमेत अहिलेसम्म दुई सय २८ जना नेपाली बर्लिनमा रहेको नेपाली राजदूतावासको सम्पर्कमा छन् । अहिलेसम्म ३४ नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको छ ।राजदूत खड्काका अनुसार पूर्वी युक्रेनको खार्किभमा पाँच नेपाली छन् । दक्षिण–पश्चिमको बेलासेरकुवा र मारियोपोलमा तीन–तीन जना छन्  । उनीहरू सुरक्षित रहेका खड्काले बताउनु भएको छ। यस्तै, चार नेपाली हङ्गेरी प्रवेश गरेका छन् ।युक्रेनको खार्किभ र राजधानी किएभमा सोमवार बिहानसम्म कर्फ्यु छ । त्यहाँबाट कर्फ्यु हट्नासाथ नेपालीहरू पश्चिम युक्रेनतर्फ जाने पर्खाइमा छन् । धेरैजसो नेपाली भूमिगत मेट्रो स्टेसनमा बसेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति