काठमाडौ, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नभएको दाबी गरेका छन् । उनले एमसीसी आर्थिक वृद्धि र गरिबी अन्त्यको लागि आएको परियोजना हो भनेर झुटो प्रचार गरिएको बताए ।
‘एमसीसी आर्थिक वृद्धि र गरिबी अन्त्य झुटो हो, यसमाथि व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ छैन, एमसीसीले नै यस्तो व्याख्यात्मक टिप्पणी अस्वीकार गर्ने घोषणा गरिसकेको छ,’ प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले भने ।उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सित्तैमा आएको अनुदान लिनुपर्ने बताएको भन्दै सित्तैमा आएको भन्दैमा विष पिउन नहुने बताए । ‘प्रधानमन्त्रीज्यूले सित्तैमा आएको अनुदान हो, लिनुपर्छ भन्नुभएको छ । तर, सित्तैमा आएको बिष पिए के हुन्छ रु म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु, ’ उनले भने ।
उनले एमसीसी नेपाललाई देखाएर भारत र अमेरिकाबीचको सम्झौता भएको बताए । ‘यो सम्झौतामा भारतको सहमति हुनुपर्ने र गोरखपुरसम्म विद्युत प्रसारण निर्माण गरेर सिंगापुरसम्म विद्युत पुर्याउने योजना छ, जुन नेपालको हितमा छैन । यो सम्झौताले नेपाललाई अमेरिकी नवउपनिवेशवाद र भारतको एउटा प्रदेशको रुपमा पुर्याउँछ,’ उनले भने ।उनले एमसीसी अधिकारीहरूले नै एमसीसी सैन्य मोर्चा स्वीकार गरिसकेको भन्दै त्यसबारे भ्रममा बस्न आवश्यक नभएको बताए ।उनले एमसीसीमा गुलियो पोतिएको भन्दै त्यसको भ्रममा नपर्न समेत आग्रह गरे ।
प्रतिक्रिया