मुलुक अनिर्णयको बन्दी भयो, गठबन्धनले निकास दिनुपर्छ : नेता भट्टराई

काठमाडौं, १२ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन भत्किनु अनिवार्य भएको बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले भने ।अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको भट्टराईले टिप्पणी गरे ।‘अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ’ उनले भने ।

भट्टराईले अघि भने, ‘यो सत्ता गठबन्धनको असफलता हो, यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ । मुलुकको अन्तर्राष्ट्रिय छवि धमिलो भएको छ । यसको गठबन्धनले जवाफदेहिता लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’प्रमुख विपक्षी दलका सांसद भट्टराईले एमसीसी पारित गर्ने दायित्व सत्तापक्षको भएकाले आफूहरु यस विषयमा अहिले नबोल्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नगरी खाली चेकमा सही गर्न आग्रह गरेको पनि भट्टराईले बताए । ‘हामीले उठाएका कुरा सम्बोधन नगरी ब्ल्यांक चेक दिनुस् भन्नुभएको छ, एमालेले ब्ल्यांक चेक दिँदैन । ब्ल्याक एण्ड ह्वाइट नै हुनुपर्छ’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति