काठमाडौं, ११ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।
लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो।लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
लघुवित्तको आईपीओमा फागुन ११ गतेदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन २५ गतेसम्म म्याद थप हुनेछ।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ।
लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ र चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ।सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।लघुवित्तले आर्थिक वर्ष २०८०र८१ सम्ममा सञ्चित नाफा ५७ करोड ४३ लाख १६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २५ करोड ३० लाख ३० हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ।
यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा ३१ करोड ९६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९र८० मा ४३ करोड १२ लाख रुपैयाँ सञ्चित नाफा कमाउने लघुवित्तले प्रक्षेपण गरेको छ।लघुवित्तले आर्थिक वर्ष २०८०र८१ सम्ममा प्रतिशेयर नेटवर्थ ४०७ रुपैयाँ ५९ पैसा र प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ८३ पैसा पुग्ने प्रक्षेपण गरेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३६३ रुपैयाँ ११ पैसा र प्रतिशेयर आम्दानी १२३ रुपैयाँ ८१ पैसा पुग्ने लघुवित्तको अनुमान छ।२०७५ फागुन २१ गतेदेखि राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा औपचारीक रुपमा वित्तीय कारोबार शुरु गरेको लघुवित्तले हाल १२ जिल्लामा ५६ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया