काठमाडौं ८ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध उभिएका नेता डा.भीम रावललाई संसदको आजको बैठकमा बोल्न दिइएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ। संसदमा एमसीसी टेबुल भइसकेपछि बाहिरिने क्रममा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले रावललाई सभामुख सापकोटाले बोल्न दिएको भन्दै आपत्ति प्रकट गरेका हुन्। हामीले सभामुख अग्नि सापकोटासमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नलिई, हाम्रो अनुमतिबिना बोल्न दिने कुरा दलीय मर्यादाविरुद्ध छ, भट्टराईले भने, हामीले दलीय सहमतिबिना किन बोल्न दिनुभयो भनेर आपत्ति प्रकट गरेका छौँ।’
आइतवार दिउँसो संसद बैठक सुरु भएपछि समय मागेर बोल्दै एमाले सांसद रावलले सन्धिसम्बन्धी कानुन नहुँदै एमसीसी पेश गरिएकोमा गम्भीर आपत्ति जनाएका थिए। नेता रावलले सन्धिसम्बन्धी कानुन खै ? कुन कानुनका आधारमा एमसीसी संसदमा ल्याइएको हो ?, उनले सोधेका थिए, यस्तै कारणले कयौँ देशहरु सकिएका छन्। नेपाली जनताको आवाज कुल्चिएर एमसीसी टेबुल गरिँदैछ। यो सार्वभौम संसद र जनताको पनि अपमान हो।
रावलले यो गैर जिम्मेवार काम भएको पनि बताएका थिए। एमसीसी संसदको विषय हुनै सक्दैन। कानुन विपरीत यो कसरी संसदको विषय भयो ? उनले सोधे, प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको छ। संसद अवरोध गरिएको बेला जनताको भावनाविपरीत टेबल गरिने कुरा आपत्तिजनक छ।
प्रमुख सचेतक भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको पनि आरोप लगाएका छन्। उनले आफ्नो पार्टीको माग पूरा हुन्जेल संसदमा अवरोध गरिरहने बताए। ‘एमसीसी एउटा ठूलो सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर नेपाली नागरिकहरूबीच पेचिलो लडाइँ सिर्जना गरी विलम्ब गरेर ल्याइयो । नाटक के देखिँदैछ भने सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हाँसिरहने देखिएको छु, उनले भने, सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य तपाईँहरुले देखिरहनु भएको छ।उनले एमाले अहिलेको सभामुखको अन्याय, अत्याचार र विभेदका कारण लामो समयदेखि संसदीय कारबाहीमा विमुख भएर बसेको पनि बताए।
हामीप्रति गरिएको अन्यायका कारण हामीले प्रतिवाद गर्न हामी नाराबाजी र घेराउमा छौँ । त्यसकारण कुनै पनि संसदीय काम कारबाहीमा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन, उनले भने, यी कुनै प्रक्रियामा हामी सामेल हुँदैनौँ । सडकमा हिंसा र जबरजस्ती जे गर्न खोजिएको छ नेकपा एमाले सिधा विरोध गर्दछ। हाम्रो माग पूरा नभएसम्म एमाले कतै जाँदैन, अवरोध गरिरहन्छौँ।
प्रतिक्रिया