कठमाडौं ७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आवश्यक परेर एमालेले देउवा सरकारलाई समर्थन गर्ने बताएका छन् । एमसीसी प्रकरणले सत्ता गठबन्धन लड्खडाएको अवस्थामा एमाले र नेकां.को गठबन्धन बन्ने चर्चा चलिरहेको सन्दर्भमा नेता ज्ञवालीले भने ‘ देउवालाई सरकार चलाउन अप्ठेरो परेमा सरकार बाहिरबाटै समर्थन गरेर निर्वाचन जान्छौं । तर हामी सरकारमा सहभागी हुंदैनौ‘ उनले भने एमालेको एक मात्र चाहना निर्धारित समयमा निर्वाचन हुनुपर्छ भन्ने हो ।
एबीसी टेलिभिजनको आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसंग कुरा गर्दे नेता ज्ञावलीले भने आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै दलसँग गठबन्धन नगर्ने बताए । ज्ञावालीले भने विगतमा गठबन्धन गरेर एउटा घोषणा पत्रबाट मत माग्ने अनि चुनाव जितेपछि कांग्रेसको सरकार बनाउन जाने भएपछि त्यस्ता सँग किन गठबन्धन गर्ने ? उनले भने चुनावपछिको स्थितिमा सरकार गठन गर्ने विषयमा गठबन्धनका लागि भने सोच्न सकिन्छ ।
एमसीसी प्रकरण एमालेको दोधारका बारेमा नेता ज्ञवालीले एमाले आफ्नो प्रतिवद्धतामा स्पष्ट छ । संसदमा एमसीसी पेश भएपछि मात्र के गर्ने भन्ने हुन्छ । अहिले हामी बोलेर के फाइदा छ र ? भन्ने प्रश्न गर्दै ज्ञवालीले भने वर्तमान गठबन्धन र देउवा तथा प्रचण्डले देशको बेइज्जत गरेको आरोप लगाए । दुनियामा कहीं नभएको सरकारमा बसेर झण्डा हल्लउंदै हिंडेन र सडकमा आगो बाल्ने कतै देख्न पाइएको छैन । त्यही काम नेपालमा वर्तमान गठबन्धनले गरिरहेको छ ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञावालीले स्पष्ट गरे- एमसीसी अमेरिकी बृहत्तर सुरक्षाभित्रकै सहयोग परियोजना हो । विआरआइ पनि चीनको सुरक्षा परियोजना हो । कसैले त्यसै दान दिंदैन । तर उनीहरुको र हाम्रो स्वार्थ मिल्छ भने आपत्ति गर्नु पर्दैन । अमेरिका र चीनको वक्तव्यवाजीप्रति नेता ज्ञवालीले प्रश्न गरे यति धेरै आलोचना र टिप्पणी हुंदा देशको सरकार कहाँ छ ? प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीले हाम्रो पोजिसन यो हो भन्नु पर्दैन ?नेता ज्ञावालीले प्रश्न गरे। एमसीसी तथा सम्भावित गठबन्धनका विषयमा केन्द्रित ज्ञावालीसँगको सम्वाद शानिबार राती ९बजे एबीसी टेलिभिजनमा प्रसारण हुनेछ । तपाई पनि हेर्ने प्रयास गर्नु होला ।
प्रतिक्रिया