नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को आज प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उनले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील कांग्रेसका बारेमा गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्दछ भने । प्रधानमन्त्री देउवाले नेपालमा पटक पटकका प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरी मुलुकमा लोकतन्त्रको स्थापनादेखि देशको विकास र नागरिकको उत्थानमा नेपाली कांग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै कांग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको कांग्रेसले यसपटक पनि अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गरे । “एमसिसीका बारेमा नेपाली कांग्रेसको धारणा एउटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ”, उनले भने । सभापति देउवाले नेपालमा प्रजातन्त्र स्थापनामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, सूर्यनाथ उपाध्यायको ठूलो योगदान रहेको भन्दै उनीहरुलाई कांग्रेसले सदैव सम्मान गर्नुपर्ने बताए । उनले नेता केसीले लेखेको उक्त पुस्तक नेपाली कांग्रेसको इतिहास थाहा पाउन चाहने जो कोहीलाई पनि मार्गदर्शक हुने बताउँदै सम्पूर्ण नागरिकलाई पुस्तक पढाउनुपर्ने धारणा व्यक्त गरे ।

अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्राली प्रकाशक रहेको ४८४ पृष्ठको यस पुस्तकमा भूमिका पूर्वराष्ट्रपति डा रामवरण यादव र प्रा डा लोकराज बरालले लेखेका छन् । पुस्तकमा नेपाली कांग्रेसका बारेमा इतिहास, संरचनागत सङ्गठन, इतिहास निर्माता नेताको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिह्नलगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेका लागि उपयोगी देखिन्छ । पुस्तकमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना, दुवै कांग्रेसको एकीकरण, कांग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, कांग्रेसले उनीहरूको योगदानलाई विरासतका रुपमा ग्रहण गर्नुका कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति