नेपाल र अस्ट्रेलिया बीच बलियो सम्बन्ध छः मन्त्री बडू

काठमाडौंँ, ३ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले न्यायमा नागरिकको सहज पहुँच, नेतृत्व विकास, स्वच्छ ऊर्जा, सङ्घीयताको सुदृढीकरण र विकासका विविध सवालमा अस्ट्रेलियाले हासिल गरेको अनुभव नेपालका लागिसमेत उपयोगी हुने बताए । मन्त्री बडूले नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पठनपाठन सहज हुने व्यवस्थाका लागि राजदूतको ध्यानाकर्षण गराएका थिए । राजदूत भोल्कले नेपाल पुरानो मित्रराष्ट्र भएका र आफूहरुले विगतदेखि नै स्वास्थ्य, शिक्षा, ऊर्जा, जलस्रोत, सामुदायिक वन र विकास पूर्वाधारदेखि समुदायस्तरमा महिलाहरुको नेतृत्व विकास, महिला हिंसा अन्त्यलगायत विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताए । उनले न्यायक्षेत्रका साझा मुद्दा पहिचान गरी आपसी सहयोग अभिबृद्धि गर्न र अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा परराष्ट्र मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति