तुलसीपुरमा भएकाे आगलागीमा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्याे

घोराही, २८ माघ, । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरु ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी सुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

आगो कम भएपछि साढे ७ बजेतिर शव बाहिर निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

आगलागीमा एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ । आगो पूर्णरूपमा नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति