काठमाडौँ, २७ माघ । अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीबारे आज बिहान बालुवाटारमा छलफल भयाे । स्रोतका अनुसार भेटमा दाहाल र नेपालले हाल तुरून्त एमसीसी पास गर्न नसकिने भन्दै त्यसका लागि समय लिएर अघि बढाउनुपर्ने बताए। चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने उनले बताए । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनु पर्ने अडान लिएका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिक रुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।
संसद्बाट एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद रहेकाे छ । शीर्ष नेताहरु एमसीसी पास गर्नुपर्ने पक्षमा मत्थर देखिएपनि विपक्षमा बोल्न पार्टीभित्र नेता कार्यकर्ताको दबाब छ । नेकपा एकिकृत समाजवादीनिकट भ्रातृ संस्थाहरुले त एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आन्दोलनको घोषणा नै गरिसकेका छन् ।
प्रतिक्रिया