नेपालको सिमानामा चीनले ‘स्थायी नहर’ बनाउन खोजेको खुलासा

काठमाडाै, २५ माघ । एक अध्ययन प्रतिवेदनले चीनले नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरेको छ । उक्त प्रतिवेदनन नेपाल सरकारले गोप्य राखेको समेत खुलासा भएको छ ।

बिबिसीले उक्त प्रतिवेदन प्राप्त भएको भन्दै उक्त खुलासा गरेको हो । चीन र नेपालको सिमानामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने दाबी सहित उक्त प्रतिवेदनले त्यसको संरक्षण र कूटनीतिक सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनले किट खोलाबाट कर्णाली नदीसम्म अवस्थित नेपाली भूभागमा तारबार समेत लगाएको खुलासा गरेको छ । उक्त तारबारलाई तत्काल हटाउनुपर्ने सुझाव समेत प्रतिवेदनमा रहेको बिबिसीको दाबी छ । तर यसबारे नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौँमा रहेको चिनियाँ दूतावासलाई बिबिसीले प्रश्न गर्दा दुवै पक्षले कुनै जवाफ नदिएको बताइएको छ ।

यसैगरी नेपालको सीमामा पर्ने लोलुङ क्षेत्रको साबिक मानसरोवर दर्शन गर्ने स्थानसम्म चिनियाँ सुरक्षा फौजको निगरानीले नेपालीलाई धार्मिक गतिविधिमा निषेध गरेको, सीमा स्तम्भ नम्बर ५ ९२० बाट पश्चिम किट डाँडाको बहुधार हुँदै गएको सीमा स्तम्भ नम्बर ४ क्षेत्र आसपासमा चिनियाँ पक्षले नेपालको चरिचरनमा अवरोध गर्ने गरेको, चिनियाँ क्षेत्रमा पर्ने सीमा स्तम्भ नम्बर ७ ९२० स्थलगत रूपमा नदेखिएको र नेपाली सुरक्षा फौजले समेत खोजी गर्दा नभेटिएको लगायत समस्या उक्त प्रतिवेदनले उल्लेख गरेको बिबिसीले जनाएको छ ।

नेपालको सीमामा चीनिया अतिक्रमणबारे विभिन्न समयमा चर्चा हुने गरेको छ । तर चीनले भने नेपालसँग कुनै पनि किसिमको सीमा विवाद नरहेको बताउने गरेको छ र नेपाल सरकारले पनि यसबारे खासै तथ्यगत बोलेको पाइँदैन ।

हुम्लामा सीमा अतिक्रमण भएको गुनासो बढेपछि गत भदौमा गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय अध्ययन टोली गठन गरिएको थियो । शेरबहारदुर देउवा नेतृत्वको सरकारकै पालामा उक्त टोलीलाई हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मका समस्या पहिचान गरी समाधानका उपायहरू सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो ।

टोलीले तीन हप्ताभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदनलाई अझै गोप्य राखिनुले केही गडबड अवश्यै रहेको आकलन गर्न सकिन्छ ।

चीनको प्रतिक्रिया भने यस्तो छ

हुम्लाको विवाद सतहमा आएपछि नेपाल र चीनका विदेशमन्त्रीबीच टेलीफोनमा कुराकानी भएको छ। नेपाल र चीनबीच झन्डै १,४०० किलोमिटर लामो सीमा क्षेत्र छ। उक्त सीमा क्षेत्र निकै विकट भए पनि तिब्बतबाट भागेर तेस्रो देश जाने प्रयास गर्ने व्यक्तिहरूले त्यसलाई पार गर्न प्रयास गरेका विवरणहरू बेला बेलामा आउने गर्छन्।
पछिल्ला केही महिनामा नेपाली भूभाग चीनद्वारा मिचिएका खबरहरू प्रकाशमा आउन थालेसँगै त्यसबारे चिनियाँ पक्षले औपचारिक खण्डन गर्ने गरेको छ।
कतिपय अवस्थामा सीमाको विषयलाई लिएर काठमाण्डूमा सानातिना प्रदर्शनहरू पनि हुने गरेका छन्।
पछिल्लो पटक ज्यानुअरीको मध्यमा काठमाण्डू स्थित चिनियाँ दूतावासका प्रवक्ताले आफ्नो धारणा राख्ने क्रममा नेपाल र चीनले मैत्रीपूर्ण संवादको माध्यमबाट सन् १९६० कै दशकमा सीमाको विषय हल गरिसकेको र दुवै देशबीच कुनै पनि विवाद नरहेको बताएका थिए।
नेपाल चीन सीमा सन्धिको ६० वर्ष, हुम्लाको प्रतिवेदनपछि चीन के भन्छ
उनले नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यसलाई स्पष्ट पार्न विगतमा विज्ञप्ति जारी गरेको र स्थलगत अध्ययन पनि गराएको उल्लेख गरेका छन्।
दुवै देशका निकायहरूले सीमा मामिलाबारे राम्रो सम्पर्क कायम राख्ने गरेको भन्दै उनले नेपाली नागरिकहरूले भ्रामक समाचारबाट प्रभावित हुन नहुने उल्लेख गरेको थियो।यसअघिको केपी ओली नेतृत्वको सरकारले चीनसँग कुनै सीमा समस्या नरहेको धारणा राखेको थियो।तर प्रधानमन्त्रीमा चुनिएपछि हुम्लाका सम्भावित समस्याबारे अध्ययन गर्न देउवाले अध्ययन समिति बनाएका थिए।आफ्नो सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रममा देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत छिमेकी मुलुकसँग समाधान हुन बाँकी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।उक्त बुँदा भारततर्फका सीमा विवादबारे मात्रै केन्द्रित रहेका प्रश्न आफ्नै दलबाट उठेको सन्दर्भमा मन्त्रिपरिषद्ले चीनसँगको सीमा क्षेत्रको स्थलगत अध्ययन गराउने निर्णय गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति