प्रधानमन्त्री देउवालाई आयो विवादित ‘होली वाइन सम्मेलन’ को निम्तो

काठमाडाै, २५ माघ । दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई सउलमा एक सातापछि हुन लागि रहेकाे सम्मेलनमा सहभागिताका लागि निम्तो गरिएकाे छ ।

युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया सरकारसँग मिलेर फेब्रुअरी १२ देखि १४ सम्म आयोजना गर्न लागेको सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो आएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युनिफिकेशन चर्चका तर्फबाट प्रधानमन्त्री देउवालाई निम्तो पठाइएको जनाएकाे छ । प्रधानमन्त्री देउवा उक्त सम्मेलनमा सहभागी हुने, नहुने टुंगो लागेको छैन । युनिभर्सल पिस फेडरेशन युनिफिकेशन चर्चकै मातृ संस्था हो, जसले २०७५ मंसिर १४ देखि १५ सम्म नेपालमा विवादास्पद एसिया प्यासिफिक समिट गरेको थियो । उक्त समिट ‘होली वाइन सम्मेलन’ को नामले विवादमा आएको थियो । उक्त विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीको रक्तशुद्धि गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी थिइन् ।

इसाई धर्म प्रचारका लागि आयोजना गरिएको भन्दै आलोचना गरिएको उक्त सम्मेलनमा ७५३ वटै स्थानीय तहका प्रमुखका जोडीलाई निमन्त्रण गरिएको थियो । तर, अधिकांश स्थानीय तहका प्रमुख कार्यक्रममा सहभागी भएनन् । पूर्व सांसद एकनाथ ढकालले उक्त सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई आग्रह गरिसकेका छन् । दक्षिण कोरियाको सौलमा सम्मेलनको नाम चाहिँ ‘कोरियाली प्रायद्वीपको शान्तिका लागि शिखर सम्मेलन’ दिइएको छ । सम्मेलनअन्तर्गत केही कार्यक्रम भौतिक उपस्थितिमा र केही भर्चुअल माध्यमबाट हुन लागेका छन् । युनिभर्सल पिस फेडरेशनले कम्बोडियासँग मिलेर क्रिश्चियन धर्म प्रचारका लागि विभिन्न देशमा कार्यक्रम गर्ने गरेको छ। यसपटक दक्षिण कोरियामा हुन लागेको सम्मेलनमा युनिभर्सल पिस फेडेरेशनका सह अध्यक्ष हक ज हान मुन र कम्बोडियाका प्रधानमन्त्री हुन सेनले संयुक्त रुपमा अध्यक्षता गर्दैछन् । उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुन पनि सहभागी हुँदैछन् । उनी युनिफिकेशन चर्चले आयोजना गर्ने कार्यक्रम र सम्मेलनका नियमित अतिथि हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति