सर्वोच्चले रोक लगाउन सक्ने आशंका : कार्यकाल नसकिँदै जाने भए अधिकांश जनप्रतिनिधि

काठमाडौं, २५ माघ । असार १४ गते निर्वाचन भएका तीन वटा प्रदेशका जनप्रतिनिधिको पनि ५ वर्ष पुरा हुने छैन। तर आगामी जेठ ६ गते नयाँ जनप्रतिनिधि सबै स्थानीय तहमा एकसाथ आउने गरी कार्यतालिका अगाडि बढाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब तीन चरणमा चुनाव गर्नु व्यवहारिक नहुने बताए। ‘दुईचार महिना अथवा एकदुई दिन निर्वाचन विविध कारणले तलमाथि पर्न सक्छ। जजसको निर्वाचन जुनजुन मितिमा भएको थियो, त्यहीत्यही मितिमा निर्वाचन गर्न व्यवहारिक हुन्न,’ शर्माले भने, ‘अहिले सरकारले गरेको निर्णय कानुन बमोजिम छ। यही मितिमा सबै स्थानीय तहको निर्वाचन हुन्छ।

जेठ ६ गते नयाँ जनप्रतिनिधिले पदबहाली गर्नुहुन्छ।’स्थानीय तह निर्वाचन ऐनमा नेपाल सरकारले स्थानीय तहको निर्वाचन गराउन मिति तोक्ने उल्लेख छ। तर त्यस्तो निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले निर्वाचन आयोगको परामर्श लिनु पर्नेछ। तोकिएको मितिमा एकै चरणमा निर्वाचन गराउन सम्भव नभएमा तोकिएको मितिबाट निर्वाचन सुरु हुने गरी दुई वा दुई भन्दा बढी चरणमा निर्वाचन सम्पन्न गर्न अलगअलग मिति समेत तोक्न सक्ने व्यवस्था छ। ऐनको दफा ४ (३) मा एउटा प्रदेशको चुनाव एकै चरणमा तोक्नु पर्ने व्यवस्था छ। उपदफा (४) मा अलगअलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने उल्लेख छ।

आयोगका प्रवक्ता शर्माले पनि यही व्यवस्थाअनुसार निर्वाचनको मिति तोकिएकाले कानुनी जटिलता केही नहुने बताउँछन्। तर, अधिवक्ता ओमप्रकाश अर्यालले भने ५ वर्ष नपुग्दै जनप्रतिनिधिलाई हटाइए जनप्रतिनिधि र मतदाताको पनि अधिकार हनन् हुने बताए। ‘पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिले पुरा कार्यकाल काम गर्दा अरुले पनि ५ वर्ष नै काम गर्न पाउनुपर्छ,’ अर्यालले भने, ‘संविधानसँग बाझिएको ऐन संशोधन गर्नुपर्छ। तर जनप्रतिनिधिलाई अगाडि नै पदमुक्त गर्न मिल्दैन।’ संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने उल्लेख छ। तर स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल सकिनु २ महिनापहिले नै निर्वाचन गर्नु पर्ने उल्लेख छ। संविधान र ऐन बाझिएका कारण यो प्रकरण पनि अदालत प्रवेश गर्ने लगभग निश्चित रहेको कानुन व्यवसायी बताउँछन्। ऐनमा दुई महिनापहिले नै चुनाव गराउनु पर्छ भन्ने व्यवस्थालाई कार्यकाल सकिनु पहिले नै भन्ने बनाउनु पर्ने उनको सुझाव छ। तर, निर्वाचन आयोग अहिलेको अवस्थामा चुनाव गर्न कुनै कानुनी समस्या नरहेको बताउँछ। अधिवक्ता अर्याल भने ५ वर्ष नपुग्दै हटायो भने जनप्रतिनिधिले रिट हाल्ने बताउँछन्।

अर्यालले भनेजस्तै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ मा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा अगाडि निर्वाचन भएकोमा निर्वाचन हुँदा कायम रहेका सदस्यको कार्यकाल समाप्त भएको भोलिपल्टको मितिमा नयाँ निर्वाचित भएको मानिने भन्ने उल्लेख छ। यसविरुद्ध रिट परेमा फेरि पनि सरकारले तोकेको मितिमा निर्वाचन गर्न सर्वोच्चले रोक लगाउन सक्ने आशंका देखिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति