काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ ।
प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले संचारकर्मीसँगको कुराकानीमा वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । ‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ ।
अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ । त्यसैले वैशाख ३० को मिति प्रस्ताव गरेको हुँ ।’यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।निर्वाचन आयोगले पनि जेठ ४ मा निर्वाचनको मिति घोषणाका लागि प्रस्ताव गृह मन्त्रालयमा पुर्याएको थियो ।
ज्योतिषीसँगको परामर्शपछि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग निर्वाचनको मिति अगाडि ल्याउनेबारे छलफल गरेका थिए ।निर्वाचन आयोगले पनि प्रधानमन्त्रीले गरेको प्रस्तावमा सहमति जनायो ।‘निर्वाचन आयोगसँगको परामर्शमै वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय सरकारले गरेको हो’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।
प्रतिक्रिया