एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा


काठमाडौँ, २३ माघ
प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो । 

गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । सो छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो । 

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार हुनुभएको हो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।  

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति