कोटेश्वर चोकमा आकाशे पुलकाे स्थानमा स्थानीयवासीको विवाद

काठमाडौँ, २० माघ । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीयस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो ।

आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले पहिले कोटेश्वर चोक नजिकै (तीनकुने जाने सडकतर्फ) पुल बनाउन भने पनि त्यहाँ स्थानीयवासीको विवादका कारण बन्न नसकेको कार्यालयका सूचना अधिकारी सुमित केसीले बताए । पुल निर्माणका लागि कतिपयले सुरुकै ठाउँ ठीक छ त्यही गर्नुपर्छ भनेका छन् भने कतिपय स्थानीयवासीले परिवर्तन गर्नुपर्ने भनिरहेका छन् । उनले भने, “पहिले भनिएको भन्दा केही तलमाथि भए पनि बनाउन सकिन्छ ।”आकाशे पुल निर्माण गर्दा ठाउँ परिवर्तनको माग गर्दै वडा कार्यालयले माग गरेपछि अहिले त्यो फाइल सडक विभाग पठाइएको कार्यालयले जनाएको छ । स्थान परिवर्तन गर्नु ठीक छ छैन भनी विभागले निर्णय गर्ने सूचना अधिकारी केसीले बताए । स्थानीयस्तरमा सहमति हुने अवस्था नभएमा ठेक्का नै रद्द हुनसक्ने उनले बताए । कार्यालयले तीन वर्ष पहिले नै नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको थियो । एकातिर भक्तपुर र ललितपुरतर्फ जाने सवारीसाधन र अर्कातिर काठमाडौँ उपत्यका बाहिर जाने नाकाका रुपमा कोटेश्वरमा सवारीसाधन र यात्रुको चाप रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्लासँगै मधेस प्रदेश र प्रदेश १ का धेरै यही बाटो भएर ओहोरदोहोर गर्छन् । छोटो र लामो दूरीका सवारीसाधन रोक्ने स्टेशन हुँदा यहाँ आकाशे पुल आवश्यक रहेको छ ।

चीन सरकारले निर्माण गरेको कलङ्की–कोटेश्वर सडकमा चीन सरकारले नै निर्माण गरेका तीन आकाशे पुलमध्ये एक कोटेश्वर चोक नजिकै छ । कोटेश्वरबाट बालकुमारीतर्फ आकाशे पुल निमार्ण भएतापनि कोटेश्वरबाट तीनकुनेतर्फ यात्रु सडकबाटै वारपार गर्दा यहाँ जाम अझै बढिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति