काठमाडौं, १८ माघ । स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले ‘आलटाल’ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘जनदबाब र संघर्ष’ को रणनीति अघि सार्ने भएको छ । माघ १९ गते बुधबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो ।उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताए ।
‘सरकारले बहानाबाजी गर्न खोज्यो भने पार्टी आफै पनि संघर्षमा उत्रिन्छ । अहिले हामीले जनसंगठनहरूलाई उतारेका छौँ, त्यसपछि आवश्यकता अनुसार अघि बढ्छौँ,’ ज्ञवालीले भने, ‘यो हप्ताभित्र पनि मिति घोषणा भएन भने आन्दोलनको विकल्प छैन ।’ अहिले कोरोनाका कारण सचिवालय बैठकमार्फत निर्णयमा पुग्ने तयारी भएको उनले बताए ।
एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।‘नेकपा एमाले संविधानअनुसार स्थानीय तहको निर्वाचन तत्काल घोषणा होस् भन्ने चाहन्छ, यो कुरा पार्टीले पटक पटक भन्दै आएको पनि छ तर सरकारले आलटाल गरिरहेको अवस्था छ’, ज्ञवालीले भने, ‘कुनै पनि बहानामा निर्वाचन टार्ने विषय एमालेलाई स्वीकार्य छैन ।’सचिवालय बैठकअघि सोमबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको उक्त बैठकले सरकार अझैपनि समयावधिभित्र स्थानीय निर्वाचन गर्न तयार नभएको निष्कर्ष निकालेको थियो । सोही बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा समेत तय गरेको छ ।
जसमा राष्ट्रिय सभा निर्वाचन र जिल्ला अधिवेशनहरूको समीक्षा, स्थानीय तहको निर्वाचनका लागि जनदबाब र संघर्ष, प्रदेश अधिवेशनको समीक्षा, पार्टीको नियमावली र जनसंगठन सञ्चालनसम्बन्धी निर्देशिका अनुमोदनलगायत निर्धारण गरेको छ ।
माघ १२ गते १९ पदमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा एमालेका एक जना उम्मेदवार मात्रै निर्वाचित भएका थिए भने कतिपय प्रदेशमा एमालेकै मतदाताले समेत आफ्ना उम्मेदवारलाई मत नदिएर अन्तर्घात गरेका थिए । खासगरी प्रदेश एकमा आफ्नै मतदाताले पार्टीका उम्मेदवारलाई मत नदिएर अन्तर्घात गर्दा गुरु बरालले पराजय बेहोर्नुपरेको भन्दै कारबाही गर्ने एमालेले जनाएको थियो । पार्टीका उम्मेदवारको जित सुनिश्चित हुँदाहुँदै पनि आफ्ना दुई प्रदेश सांसदसहित अन्य जनप्रतिनिधिले अन्तर्घात गरेको भन्दै नेकपा एमाले प्रदेश १ ले अन्तर्घातीको खोजीका लागि छानबिनको मागसहित पार्टी केन्द्रलाई गुहारेको थियो ।
एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले माघ १३ गते विज्ञप्तिमार्फत विपक्षी गठबन्धन आफ्नो पार्टीविरुद्ध लागेको बेला आफ्ना उम्मेदवारहरू आफ्नैभित्रबाट षडयन्त्रको सिकार भएको बताएका थिए । ‘पार्टी निर्णय र हितविरुद्धमा भएका अन्तर्घाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कारबाही गर्न पार्टीले संकल्प छ’, अध्यक्ष न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया