काठमाडौँ, १७ माघ । सरकारले तोकेको मापदण्ड विपरीत इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–११ भद्रकालीप्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं २३९५ को सात रोपनी जग्गा भाडामा दिँदा मन्त्रिपरिषद्को मापदण्ड मिचेको जग्गाको घरजग्गा एवं बहाल करसमेत नतिरेको वडा अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए । कम्पनीले विसं २०७४ मा कम्पनीको जग्गा भाडामा लगाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । बीसभन्दा बढी कम्पनीले बोलपत्र हालेकामा सबैभन्दा बढी भाडा कबोल गर्ने फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिलाई मासिक रु १० लाख ५१ हजारमा दिने सम्झौता २०७४ साल असार ७ गते गरिएको कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताएका छन् । कम्पनीले घर बहालमा लगाए पनि कर भने तिरेको छैन । भद्रकालीप्लाजा क्षेत्रमा रहेका नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, राष्ट्रिय बीमा संस्थानले भने वडा कार्यालयले गरेको पत्राचारअनुसार नै कर तिरिरहेका छन् । यस क्षेत्रमा रहेका अन्य कार्यालयलाई पनि कर तिर्न पत्राचार गरिएकामा नतिरेको वडा कार्यालयले जनाएको छ । “कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत पदाधिकारी र बोर्ड सदस्य महानगरीय प्रहरी परिसरलाई जग्गा बेच्नुअघि वडा कार्यालयमा सिफारिसका लागि आउनुभएको थियो, मैले कर तिर्न भनेँ, उहाँहरूले नतिरीकन माथि माथिबाट मिलाएर जग्गा बेच्नुभएछ, महानगरीय प्रहरी परिसरले घरबाटो सिफारिस गर्दा भने रु छ लाख कर वडा कार्यालयले लिएको छ”, वडाध्यक्ष तण्डुकारले भने । कानुनअनुसार नै बुझाउनुपर्ने कर सरकारले कार्यालयले नै नबुझाएपछि आफूले पटक–पटक कानुन परिवर्तन गरेर आउन भन्ने गरेको उनले भने ।
मनोरञ्जनात्मक कामका लागि सात रोपनी जग्गा भाडामा दिँदा कानुन बमोजिम गर्ने भनी दोस्रो पक्षसँग सम्झौता गरेको जानकारी भएकाेमा कम्पनीले कानुन बमोजिम गर्ने भनी सम्झौता गरेको दाबी गरिए पनि फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिले भने नदीको दायाँबायाँ छोड्नुपर्ने मन्त्रिपरिषद्को मापदण्ड अनुरुपको चार मिटरको नियम पालना गरेको छैन ।
प्रतिक्रिया