काठमाण्डौ, १७ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई सार्वजनिक सूचनाबाट ताकेता गरेको छ ।
काेराेनाकाे खोपकाे दुरूपयाेग भएकाे खबर फैलिएकाे समयमा मन्त्रालयले आज सूचना निकालेर आउँदो शुक्रवारकाे दिउँसो ३ देखि ४ बजेसम्म खाेपकाे माैज्दात तथा खाेप लगाएका सम्पूर्ण व्यक्तिकाे तथ्याङ्क डिएचआईएस-२ प्रणालीमा अनिवार्य तथ्याङ्क प्रविष्ट गर्न भनिएको छ । मन्त्रालयले निकालेको सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई साे सूचना लागु हुने बताएकाे छ ।

प्रतिक्रिया