जिस्किएर वा गोप्य रुपमा कसैको भिडियो खिचे गृहले कारबाही गर्ने

काठमाडौं, १३ माघ। सार्वजनिक स्थलहरूमा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी ‘टर्चर’ दिनेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य गर्नेमाथि कारबाही हुने बताएको हो।

ख्यालठट्टाको नाममा वा गोप्य रूपमा सार्वजनिक स्थलहरूमा कसैको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेक्रम बढेपछि गृहको ध्यानाकर्षण भएको हो। बिना अनुमति भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न गृहले निर्देशन पनि दिएको छ। यस्तो कार्यले सर्वसाधारणलाई शारीरिक र मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने, दिक्दार लगाउने गरेको गृहको भनाइ छ।

साथै गोप्य भिडियो तयार पारी उक्त भिडियो फुटेज सामाजिक सञ्जालमा राख्नेलाई कारबाही हुने गृहले जनाएको छ। सार्वजनिक स्थलहरूमा हुने यस्ता भद्दा प्रकृतिका ख्यालठट्टाबाट केही व्यक्ति सिकार भएको र ती व्यक्तिमा मानसिक तनाव देखिने गृहको विज्ञप्तिमा उल्लेख छ। त्यस्ता भिडियोहरूले समाजमा झैझगडा, वादविवाद, द्वन्द्वजस्ता घटना हुन सक्ने भएकोले गृहले सतर्क गराएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिको गोपनीयता र प्रतिष्ठानमा समेत असर पर्ने भएकाले व्यक्तिको अनुमतिबिना कुनै भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति