काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आकलन गरेको जनाएको छ ।
दार्चुलाको ब्यास गाउँपालिका १ को कौवा क्षेत्र । यसको तीन सय मिटर पर लिपुखोलापारि अतिक्रमित नेपाली भूमि गुन्जी गाउँमा भारतीय सुरक्षा क्याम्पहरु छन् । बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछिमात्र प्रकाशन गरिने बताए । ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना हुन सकेन,’ महानिर्देशक श्रेष्ठले भने, ‘तर इन्डाइरेक्ट टेक्निक्सहरू युज गरेर (प्रविधिको प्रयोग गरी) त्यहाँको प्रारम्भिक जनसंख्या पनि निकाल्न सकेका छौं । तथ्यांकमा समावेश भएको छ ।’
अहिले पालिकागत जनसंख्यामात्र सार्वजनिक गरिने भएकाले अन्तिम नतिजामा मात्र समेटिने उनले जनाए ।विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिब ६ सय रहेको छ । ‘त्यस क्षेत्रको जनसंख्या पाँच सयदेखि ६ सयको बीचमा रहेको छ,’ उनले भने, ‘वडा तहसम्मको जनसंख्या यकिन गर्न बाँकी रहेकाले अहिले नै किटेर भन्न सक्ने अवस्था छैन ।’२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभाग जनगणना हुन सकेको छैन ।
अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ । उतिखेरको जनगणनामा डोटी, बैतडी र डडेलधुरा जिल्लाको जोनल अफिसरका रूपमा खटिएका वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार लिम्पियाधुरा क्षेत्रका मानिसको संख्या १ हजार ५ सयजनाको हाराहारीमा थियो । त्यो जनगणनाले नेपालको कुल जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ जना देखाएको थियो । तर, केन्द्रीय तथ्यांक विभागमा उतिखेर लिइएको जनगणनाको खण्डिकृत तथ्यांकको रेकर्ड भेटिएको छैन ।
विदेशमा करिब २२ लाख
त्यसैगरी पहिलो पटक विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत नेपाली कर्मचारी तथा तिनका आश्रित परिवार सदस्यको इसेन्स लिइएको थियो । जसमा संख्या करिब सात सय जना रहेको जनाइएको छ । त्यस्तै, विदेशमा रहेकाहरूको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको छ । जसमा पुरुष ८१ दशमलब २८ प्रतिशत र महिला १८ दशमलव ७२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया