चीनमा उपचार गरेर फर्किएका नेता पुन प्रचण्डलाई भेट्न खुमलटार

काठमाडौं, ११ माघ । स्वास्थ्य उपचार गरेर चार महिनापछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् ।

चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए । ‘लामो समयको उपचार पश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,’ प्रचण्डको फेसबुक पेजमा लेखिएको छ । सो भेटमा समसामयिक राजनीतिक अवस्था र पार्टीका कामबारे पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसैगरी नेता पुनले आफ्नो उपचारका लागि गरेको सहयोगप्रति प्रचण्डप्रति आभार प्रकट गरेका थिए । सोमबार बेलुकी चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले आफू अब स्वस्थ्य भएको भन्दै पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका थिए ।

पार्टीको महासचिव पदका दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति