नेप्सेमा १०० अङ्कको पहिरो

काठमाडौँ, १० माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । आज कारोबार मापक नेप्से झण्डै १०० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९९।८६ अङ्कले घटेर दुई हजार ८२०।६५ मा ओर्लेको छ । यस्तै, कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८।०८ अङ्कले घटेर ५२६।०३ मा ओर्लेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । कूल २२८ कम्पनीको एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर रु ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ मूल्यमा कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ८६ अर्ब ११ करोड २८ लाख ४० हजारको हारहारीमा ओर्लेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ५४।२७, व्यापार ११३।६५, होटल तथा पर्यटन १०७।७६, विकास बैंक २३४।२७, जलविद्युत् १५५।८७, वित्त ११०।७८, निर्जीवन बीमा ५०६।७८, उत्पादन २४४, अन्य ८१।४१, लघुवित्त १८३।७५, जीवन बीमा ५६९।७९, सामूहिक लगानी कोष ०।३६ र लगानी ३।२३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. ३८ करोड ३४ लाख २४ हजार १५२ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु. ३६ करोड ७३ लाख ६४ हजार ५२७, अरुण भ्याली हाइड्रोपावर रु ३० करोड ४९ लाख ६६ हजार ८९५, माथिल्लो तामाकोशी रु २० करोड २६ लाख १३ हजार ५६५ र नेपाल दूरसञ्चार कम्पनी रु. १९ करोड ४२ लाख ८७ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार बिन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको पनि शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । ज्योति लाइफ इन्स्योरेन्स १।८२, गुर्खाज फाइनान्स १।५१, र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले १।५० प्रतिशतले कमाए ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक ७।८२, माउण्टेन हाइड्रो नेपाल ७।७१, आशा लघुवित्त ७।१०, ओरियण्टल होटल ७।०९ र सामलिङ पावर कम्पनीका शेयरधनीले ६।८८ प्रतिशतले गुमाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति