काठमाडौं, ९ माघ । राष्ट्रिय सभा चुनावअन्तर्गत आज (आइतवार) राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी गराएको हो ।
आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले चुनावको आचारसंहिता सार्वजनिक गरेको बताए । उनले यस समयमा चुनावको मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाइनुपर्ने बताए । सहसचिव धमलाले आजदेखि सामाजिक सञ्जालबाट प्रचारप्रसार र प्रकाशनका काम गर्न बन्द भएको जानकारी दिए । उनले भने, ‘कुनै पनि चुनावमा आचारसंहिता लागू हुन्छ ।
तर अहिलेको राष्ट्रिय सभाको चुनावमा आम मतदाता संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार आदिको हिसाबले पनि त्यो सङ्ख्यामा नहुने भएकाले आचारसंहिता उल्लङ्घन भएका उजुरी आएका छैनन् र आउँछो जस्तो पनि लाग्दैन । आज राति १२ बजेदेखि आचारसंहिताको मौन अवधि सुरु हुन्छ । मौन अवधिमा सबै प्रचारप्रसारका काम बन्द गर्नुपर्छ । मतदान हुने ठाउँको तीन सय मिटर वरिपरि पर्चा, पोस्टर, पम्प्लेट टाँसेका छन् भने हटाउनुपर्छ । त्यो मौन अवधिमा जस्तैस्– एसएमएस गर्ने, फेसबुक, भाइबर, ट्विटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर प्रचरप्रसार गर्ने काम बन्द गर्नुपर्ने हुन्छ । राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र उनीहरूको विषयमा सामग्री प्रकाशन गर्ने काम पनि बन्द गर्नुपर्छ ।’
सहसचिव धमलाले राष्ट्रिय सभाको चुनावमा आयोगले निर्देशित गरेका २१ बुँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढङ्गले सम्पन्न हुने बताए ।
प्रतिक्रिया