सुत्केरीपछि आमा र बच्चाको मृत्यु

सिमकोट, ९ माघ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ।सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको माघ ७ र नवजात शिशुको माघ ५ मृत्यु भएको हो।

अस्पतालका अनुसार उनको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। टीकाका ससुरा धनसिंह सार्कीका अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनलाई जिल्ला अस्पतालमा लगिएको थियो।

शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।

जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन्।

माइती पक्षले टीकाको शव उठाउन नदिएपछि जिल्ला अस्पतालमै राखिएको छ। माइती पक्षले के–कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो जानकारी नहुँदासम्म शव उठाउन नदिएपछि टीकाका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए।

अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको भने यहाँ यो नै पहिलो घटना हो। साथै पुस ३० मा अदानचुली गाउँपालिका वडा ६ का गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति