‘ढुङ्गेधाराको कथा भगिरथ राजासँग जोडिएको छ’

काठमाडौं, २८ पुस ।  शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन ।

उनलाइ नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराए । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्नेबारेमा जानकारी गराउँदै उनले यहाँको गुरुयोजना, अब बन्ने शङ्खधर साख्वाःको सालिक, शङ्खलगायतका संरचनाका विषयमा जानकारी दिए ।

शङ्खधर पार्कमा निर्माण भएका ढुङ्गेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुङ्गेधारासँग राजा भगिरथको कथासँग महादेव र गङ्गाको किस्सा जोडिएको बताए। उनले भने, “राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गङ्गा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।”

जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गरे। अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शङ्खधर पार्कको महत्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति