काठमाडौं, २६ पुस । शुल्ककाे विषयमा एमबीबीएस विद्यार्थीले गरेको आन्दोलनमा संयुक्त विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएको छ ।
एमालेको अनेरास्ववियु बाहेकका सात विद्यार्थी संगठनको सोमबार दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न माग गरेकाे छ । नोबेल मेडिकल कलेजको आन्दोलनमा विद्यार्थीमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै दाेषीलाई कारबाहीको मागसमेत गरेका छन् ।
संगठनले समस्या समाधानको पहलका लागि गृहमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेका छन् । मंगलबार काठमाडौं मेडिकल कलेजमै उपस्थित भई विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने कार्यक्रम तय भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
विराटनगरको नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा एमबीबीएस विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् । कलेज सञ्चालकले भने आयोगबाटै समस्या सिर्जना भएको भन्दै आफूहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया