नारायणहिटीमा रेस्टुरेन्ट चलाउन ठेक्का हात पारेको बतासले संग्राहलय हातामा होडिङ बोर्ड पनि राख्ने


काठमाडौं, २५ पुस। नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन ठेक्का हात पारेको बतास समूहले होडिङ बोर्ड पनि राख्ने भएको छ । काठमाडौ महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिल्लो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो । गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले नारायणहिटी दरबार परिसरभित्रै होर्डिङ बोर्ड राखेबापत वार्षिक २ लाख ४५ हजार विज्ञापन कर लिनेछ । नारायणहिटी परिसरमा अग्लो टावर बनाएर बोर्ड राख्न लागिएको हो । कानूनले यसरी स्मारक क्षेत्रमा होर्डिङ बोर्ड राख्न निषेध गरेको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ले सम्पदा क्षेत्र विरुप हुने भएकाले विज्ञापन बोर्ड राख्न अनुमति नदिने गरी स्पष्ट व्यवस्था गरेको छ ।

ऐनमा पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नारायणहिटीमा बोर्ड राख्ने अनुमति दिन दबाव दिएको स्रोतको दावी छ ।


महानगरको राजस्व विभागका एक अधिकारी भने होर्डिङ बोर्डका लागि नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले नै पत्र काटेको दावी गर्छन् । ‘दरबार क्षेत्रभित्र बोर्ड राख्न सकिँदैन भनेर हामीले अडान लिएका थियौं,’ ती अधिकारीले भने,’माथिबाट यति दबाव आयो कि नदिई सुखै भएन ।’ उनका अनुसार ३५० वर्गफिटको बोर्ड राख्ने गरी सम्झौता भएको हो । मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नारायणहिटीमा बोर्ड राख्ने अनुमति दिन दबाव दिएको स्रोतको दावी छ ।यो बोर्ड नारायणहिटीको कुन भागमा राख्ने भन्नेमा महानगरपालिका आफैं स्पष्ट छैन ।

संग्राहलयका एक कर्मचारीका अनुसार प्रवेशद्वारबाट पछाडि नारायणहिटी दरबारको मूल ‘प्यागोडा’ भवनको मुनिपट्टि पर्ने गरी अग्लो बोर्ड राख्ने तयारी छ । ‘बाहिरबाट नारायणहिटी दरबार हेर्नेले बोर्ड पनि देख्ने गरी बोर्ड राख्न तयारी भएको हो,’ ती अधिकारीले भने,’यो रेस्टुरेन्टभन्दा बिल्कुल अलग प्रोजेक्ट हो, यसबारे अहिलेसम्म के गर्ने भन्ने स्पष्ट छैन ।’ उनका अनुसार बाहिर दरबारमार्गतर्फबाट धेरैले हेर्ने भएकाले सहजै देखिने गरी परिसरमै बोर्ड राख्न संग्राहलयबाट पनि अनुमति पाइसकेको छ । ‘यो क्षेत्रतर्फ धेरै दर्शक छन् । त्यसैले रेस्टुरेन्ट र विज्ञापन बोर्ड एकैपटक खुल्ने भनिएको थियो,’ ती अधिकारी भने,’विवाद भएपछि सम्झौता विपरीत बनिरहेको रेस्टुरेन्टको संरचना भत्कियो, विज्ञापन बोर्डको के हुन्छ भन्ने स्पष्ट छैन ।’उनका अनुसार बोर्ड राख्न बतासले प्राविधिक तयारी पनि गरिरहेको छ । मनिटर ल्याएर जोड्न मात्रै पर्ने भएकाले तयार हुन धेरै समय नलाग्ने ती अधिकारीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति