मङ्गलबारे, २५ पुस । इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् ।
माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले यहाँकाे मुख्य व्यापार रहेकाेमा याे वर्ष जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद नगरेपछि किसान मर्कामा परेका छन् । आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा यस्ताे अवस्था आएकाे किसान बताउँन्छन् । विगतका वर्षमा लेकाली क्षेत्रका किसानले जिल्लाका तल्लो क्षेत्रका किसानलाई राम्रो मूल्यमा आलुको बीउ बिक्री गर्ने गरेको भएपनि यसवर्ष बिक्री नहुँदा किसानको गोदाममा बीउ थन्किएको छ । गत वर्ष प्रतिकिलो रु २२५ मा बिक्री भएको बीउ यस वर्ष फाट्टफट्ट रुपमा मात्र बिक्री भएको छ । गत वर्ष यहाँको बीउ भारततर्फ निकासी हुँदा किसानले उच्च मूल्य पाएका थिए । यसवर्ष भारतबाट व्यापारी नआएपछि थोरै मात्रामा बीउ बिक्री भएको र त्यो पनि गतवर्षभन्दा न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानको भनाइ छ ।
माईजोगमाई गाउँपालिका–६ का कुमार राईले यसवर्ष पनि विगतजस्तै महँगो मूल्यमा बिक्री हुन्छ भनेर बीउ राखेको भए पनि आलु रोप्ने समय बित्नै लाग्दा पनि बीउ बिक्री हुन सकेको छैन । किसानले बीउको भाउ आउने आशाले असार–साउनमा खनेको आलु बीउ बिक्री नगरी राखेका छन् । तर अहिले भाउ नआएपछि उनीहरुलाई आलुको बीउ निल्नु न ओकल्नु जस्तै भएको छ । सो क्षेत्रका किसानले घरखर्च चलाउने र अन्य काम गर्ने गरी आलु रोप्दै आएका छन् । अधिकांश किसानले एक क्विन्टलभन्दा बढी नै बीउ राखेको बताइएको छ । बीउ आलुमा इलाम जिल्ला आत्मनिर्भर भई माग भन्दा धेरै उत्पादन हुन थालेको छ ।
केन्द्रमा बीउ आलुको माग गर्ने किसानको सङ्ख्या घटेको आलु विकास केन्द्र जौबारीका प्रमुख जनार्दन गौतमले बताए । केन्द्रले यो वर्ष १४ टन बीउ आलु उत्पादन गरेको थियो । यस्तै केन्द्र अन्तर्गतकै कालिकादेवी कृषि सहकारी संस्थाले ४० टन बीउ आलु उत्पादन गरेको छ । उत्पादन लिन सकिने जनकदेव, डेजिरे, खुमल सेतो र खुमल उज्वल समेत उन्नत जातका आलु रोपणलाई प्रोत्साहन गरिएका कारण यसवर्ष बढी बीउ उत्पादन भएको केन्द्रको दाबी छ । समुदायस्तरमा उत्पादित आलुको बीउ बाहेक केन्द्रले बीउ आलु बिक्री गरेर यो वर्ष ११ लाख ५० हजार राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । स्थानीय जातका आलु उत्पादन कम हुने भएकाले उन्नत जातका आलु रोपेर बढीभन्दा बढी उत्पादन लिन केन्द्रले सुझाएको छ ।
प्रतिक्रिया