काठमाडौँ, २३ पुस । नेपालको सरसफाइ अभियानमा उल्लेख्य योगदान पुर्याउएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कुन्ति स्मृति प्रतिष्ठान र शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालद्वारा आज आयोजित कार्यक्रममा सफाइ अभियान्तालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सम्मानित गरेका छन् । सम्मानित हुनेमा पूर्वसचिव अवोधकिशोर मिश्र, मुक्ति पोखरेल, मदन मल्ल, बोधनारायण श्रेष्ठ, हरिदत्त पौडेल, शिवराज न्यौपाने, झङ्क कुँवर, होमनाथ आचार्य, सुनिता सुल्पे, शान्ति उपाध्याय, स्वस्तिका श्रेष्ठ, कमला सापकोटा र उद्धव तिमिल्सिना छन् । कार्यक्रममा नेपालको सफाइ अभियान्ता नमस्तेलाल भूमिद्वारा लिखित ‘सकारात्मक सोच, खोज र रोज’ पुस्तक तथा ‘मार्गदर्शक विचार’ निर्देशिका विमोचन गरिएको थियो । श्रममन्त्री श्रेष्ठले आफूँ पदमा रहुञ्जेल सकारात्मक सोचका साथ जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै श्रम रोजगार क्षेत्र सुधारमा केन्द्रित भएको बताए । अदक्ष श्रमिक वैदेशिक रोजगारीमा जाँदा स्वयम् व्यक्ति तथा मुलुकले ठूलो नोक्सानी व्यहोरिरहेको बताउँदै उनले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउन सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरिएको बताए ।
खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले तीन दशकभन्दा बढी समयदेखि सरसफाइको क्षेत्रमा अनवरतरुपमा सेवा गरेकामा सरकारका तर्फबाट आभार प्रकट गरे । सरसफाइलाई सकारात्मक सोचका साथ लाग्ने नमस्तेलालको ऊर्जा प्रेरणादायी रहेको उन्ले बताए । सम्मानित व्यक्तित्व मिश्रले सरसफाइ सामाजिक आन्दोलनका रुपमा अगाडि बढेका कारण नेपालमा खुला दिसामुक्त अभियानले छोटो समयमै सफलता हासिल गरेको बताए । लेखक खगेन्द्र संग्रौलाले सरसफाइ आर्थिक तथा सामाजिक जीवनसँग जोडिएको उल्लेख गर्दै शैक्षिक र सांस्कृतिक चेतनाको विकास गर्न नमस्तेलालले सहयोग गरेको बताए । साहित्यकार डिल्लीराम मिश्रले सकारात्मक सोचका साथ सरसफाइ अभियानमा लाग्नुभएका नमस्तेलालको सरसफाइ क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताएका छन् । लेखक तथा समीक्षक सुरेन्द्र ढकालले जलवायु परिवर्तनका कारण मानव जीवन समस्यामा पर्दै गएको उल्लेख गर्दै मातृभूमि र सभ्यताको संरक्षण गर्न सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए ।
लेखक नमस्तेलालले सकारत्मक सोच, विचारले नै विश्वलाई सकारत्मक दिशामा उन्मुख गराउने उल्लेख गरे । नमस्तेलाल नेपालको सरसफाइको क्षेत्रमा चिरपरिचित नाम हो । तनहुँको बन्दिपुरमा जन्मेर उनी लामो समय विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय सङ्घसंस्थामा कार्यरत रहँदै नेपालको सफाइ अभियानमा सङ्लग्न भएको थिए । पछिल्लो समय उनी युनिसेफमा आबद्ध भएको थिए । उनको सक्रियतामा सन् २००० देखि नेपालमा राष्ट्रिय सरसफाइ सप्ताह तथा विद्यालय सरसफाइ कार्यक्रम र सन् २००६ मा विद्यालयको अगुवाइमा पूर्णसरसफाइ कार्यक्रमको प्रवर्तक बनी चार हजार ५०० बढी विद्यालयमा सेवा क्षेत्रभित्र खुला दिसामुक्त घोषणा गराएकाे जनाइएको छ । उनको अगुवाइमा सन् १९९८ मा तत्कालीन ७५ जिल्लाका सभापति र नगर प्रमुखको सहभागितामा सरसफाइ सम्मेलन भएको थियो । उनले सन् २००८ मा वाग्मती सफाइ अभियानसँगै ६०१ संविधानसभा सदस्यलाई सरसफाइमा सङ्कल्प गराएका थिए । सरकारले २०७६ असोज १३ गते खुल्ला दिसामुक्त मुलुक घोषणा गरेको थियो । त्यसअघि सफाइ अभियान्ताको अगुवाइमा ‘एक घर, एक चर्पी’ अभियान सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया