बाङडुङ सम्मेलनमा चाउले विकासशील मुलुकहरुको मन कसरी जिते, के अब पनि चीनलाई चाउ एनलाइको खाँचो छ त ?

विन्स्टन फङ, पुस २२

‘चीनको विश्वव्यापी महत्वाकांक्षा बढिरहँदा कूटनीतिमा उसको लगानी भने घटिरहेको छ,’ १२ डिसेम्बरमा एससीएमपीको समाचार शीर्षक थियो। तर, चीनको कूटनीतिक स्रोत घट्नु सो मुलुकको विदेश नीतिको एक मात्र र प्रमुख चुनौती होइन।

अमेरिकासँग बढिरहेको प्रतिस्पर्धा होस् या पश्चिममा बेइजिङप्रति बढ्दो सन्देह अथवा बेल्ट एन्ड रोड इनिसियटिभमाथिको छिद्रान्वेषण नै किन नहोस्, चीनले सामना गरिरहेका यी चुनौती कूटनीतिक स्रोतसाधन बढाउँदैमा समाधान हुँदैनन्।

मुख्य कुरा के हो भने चीनले एउटा व्यवहारिक विदेश नीतिको खोजी गर्न जरुरी छ, जसले अन्य मुलुकको चासोलाई सम्बोधन गर्नुका साथै चीनको हितलाई सुरक्षित गर्न सक्छ। यतिबेला चीनले कुनै निश्चित कदम चालेर आफ्ना अल्पकालीन लक्ष्यहरु पुरा गर्न सक्छ। तर, त्यसले दीर्घकालीन रुपमा चीनप्रति शत्रुतापूर्ण अन्तर्राष्ट्रिय परिस्थिति सिर्जना गर्न सक्छ।

चीनको आक्रामक ‘वुल्फ वारिअर’ कूटनीतिले धेरै मुलुकलाई क्रुद्ध तुल्यायो। त्यति मात्र होइन, यसले अमेरिकालाई बेइजिङ उदार लोकतान्त्रिक विश्वका लागि खतरा हो भनेर आरोप लगाउने मौका पनि दियो। त्यस्तै अमेरिकाले चीनमा हुने प्रविधि हस्तान्तरणमा पूर्ण रोक लगाउने खतरा पनि छ।

खसगरी अन्तर्राष्ट्रिय सम्बन्धका अमेरिकी विज्ञ र नीतिनिर्मातामाझ चीनको विदेश नीतिको नियत के हो भन्नेबारे बहस छ। चीन उदार लोकतान्त्रिक अन्तर्राष्ट्रिय मान्यताहरुलाई उल्ट्याउन चाहने लेनिनवादी संशोधनवादी शक्ति हो कि बाहिरी हस्तक्षेपबाट आफ्नो राजनीतिक व्यवस्था जोगाउन खोजिरहेको रक्षात्मक शक्ति हो भन्ने प्रश्न पनि छ।

जे भए पनि यस्ता बहसहरुले चीनको विदेश नीतिलाई अस्पष्ट र अव्यवस्थित छ भन्ठान्ने मुलुकहरुको संख्या बढिरहेको तथ्यलाई उजागर गर्छ। यहाँ खतरा के छ भने यदि चीनले आफ्ना विदेश नीतिका उदेश्यहरु विदेशीसमक्ष राम्ररी व्याख्या गर्न सकेन भने तिनै मुलुकले आआफ्नै ढंगले ती नीतिलाई परिभाषित गर्नेछन्। जुन बेइजिङले चाहेअनुसारको नहुन सक्छ।

तसर्थ, यतिबेला चीनलाई अर्को एक चाउ एनलाइको आवश्यकता छ। उनी आधुनिक चीनको पहिलो विदेशमन्त्री थिए। उनी असाधारण रुपले क्षमतावान्, चमत्कारी व्यक्ति थिए, जसले उपनिवेशवादको साझा पीडाको शक्तिलाई राम्ररी बुझेका थिए।

त्यही साझा पीडालाई प्रयोग गरेर चाउले १९५५ को बाङडुङ सम्मेलनमा विकासशील मुलुकहरुको मन जिते। उनले ‘शान्तिपूर्ण सहअस्तित्वका लागि पञ्चशीलको सिद्धान्त’ प्रस्ताव गरे। जसअनुसार असंलग्न आन्दोलनको प्रमुुख सिद्धान्तका रुपमा एकअर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एकअर्कामाथि आक्रमण नगर्ने, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक सहयोग र शान्तिपूर्ण सहअस्तित्वलाई अघि सारियो।

यसरी चाउले चिनियाँ विदेश नीतिको स्पष्ट र सचेत उदेश्य अगाडि सारे। जसलाई विकासशील मुलुकहरुले राम्ररी बुझे र उनीहरु पनि यसमा सहमत भए। अहिलेको नयाँ चाउले त्यस्ता साझा हितहरुको पहिचान गर्न सक्नुपर्छ, जसमा धेरैजसो मुलुकहरु सहमत हुन सकून्।

निश्चय नै चाउजत्तिको योग्यता भएको अर्को व्यक्ति फेला पार्ने सम्भावना नहुन सक्छ। अझ यथार्थपरक ढंगले भन्ने हो भने चिनियाँ विदेश मन्त्रालयले योग्यता, क्षमता र अनुभवका आधारमा होनाहार कूटनीतिज्ञहरुको एउटा समूह पहिचान गरी तिनलाई अघि बढाउनुपर्छ।

माथिको आदेश पालना गर्ने क्रममा उनीहरुलाई लचक हुने ठाउँ दिइनुपर्छ। त्यति मात्र होइन, विदेशीहरुसँग उनीहरुको अन्तर्क्रिया र बुझाइमा आधारित भएर तिनको पृष्ठपोषण पनि लिनुपर्छ र त्यसले विदेशनीतिलाई निर्देशित गर्नुपर्छ। अहिले चिनियाँ कूटनीतिमा विशुद्ध रुपमा माथिदेखि तलको अवधारणा छ। तर, चिनियाँ कूटनीतिको उदेश्यलाई परिमार्जन गर्न तलदेखि माथिको अवधारणा अपनाउन सकिन्छ।

सबैभन्दा महत्वपूर्ण, चीनले आफ्नो विदेशनीतिको मूल आधार पञ्चशीलको सिद्धान्तमा थपथाप गर्ने सम्भावनाबारे पनि विचार गर्नुपर्छ। त्यस्तो कुरा थपिनुपर्छ, जसले विश्वका समकालीन मुद्दाहरुलाई सम्बोधन गर्न सक्छ। त्यो चीनको उदयले विश्वलाई कस्तो प्रभाव पार्छ भन्ने विषयप्रति पनि सचेत हुनुपर्छ।

उदाहरणका लागि, शीतयुद्ध समाप्तिपछिको आधुनिक विश्वमा शान्तिपूर्ण सहअस्तित्वको अर्थ के हो ? जलवायु परिवर्तनजस्ता एकभन्दा बढी मुलुकको सहकार्य आवश्यक पर्ने विश्वव्यापी समस्यालाई सम्बोधन गर्ने कामबाट यसको सुरुवात हुनसक्छ। चीनले भन्न सक्छ– शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तले हामीलाई यस्ता विश्वव्यापी मुद्दा पहिचान गर्न र सहकार्यमार्फत समाधान पेस गर्न बाध्य बनाउँछ।

हामी अन्य मुलुकको राजनीतिक शासन व्यवस्थालाई उल्ट्याउन चाहँदैनौँ भनेर पनि चीनले स्पष्ट भन्न सक्छ। यसले अमेरिकासँगको विचारधारात्मक प्रतिस्पर्धा कुनै पनि स्वरुपमा अन्यत्र पोखिँदैन र त्यो विश्वव्यापी कम्युनिस्ट क्रान्तिमा परिवर्तन हुँदैन भनेर चीनप्रति सशंकित मुलुकहरुलाई आश्वस्त तुल्याउन सहयोग गर्छ। त्यसका लागि चीनले आफूलाई सोभियत संघजस्ता विगतका प्रभुत्वशाली शक्तिभन्दा फरक हौँ भनेर देखाउनुपर्छ।

यो उदेश्य प्राप्त गर्न चीनले अन्य मुलुकको शासनसत्ताको सुरक्षामा खलल पुर्याउने गरी झुटा सूचना प्रचार गरेर कुनै अनलाइन अभियानमा सामेल हुँदैनौँ भन्ने पनि स्पष्ट पार्नुपर्छ। फेसबुक र ट्विटरमा ‘फेक न्युज’ को प्रचार गर्नमा चीन रुसभन्दा पनि अनाडी र प्रभावहीन देखिएको छ। जसलाई सोसल मिडिया साइटहरुले सजिलै पत्ता लगाएर डिलिट गर्छन् र त्यसको विदेशी दर्शकमाझ कुनै विश्वसनीयता पनि छैन।

चीनको विदेश नीतिको लक्ष्य हासिल गर्न यस्ता झुटा सूचना अभियानले कुनै सहयोग गरेको छैन। त्यसैले त्यस्ता कार्यलाई बन्द गर्नुमा कुनै हानि छैन।

चीनका लागि आफ्ना प्रमुख सिद्धान्तमा यी कुरा थप्नु निकै कठिन छ। यसमा कुनै सन्देह छैन। तर, शीतयुद्ध चर्किरहेको बेला, अमेरिकासँग दुश्मनी बढिरहेका बेला चाउ एनलाइलाई बाङडुङमा पञ्चशीलको सिद्धान्त स्वीकार गर्न पनि सजिलो थिएन।

त्यस्ता अप्ठेराका बाबजुद चाउले त्यो काम गरे। व्यवहारिक भएर विश्वसामु आफ्नो उदेश्य प्रदर्शन गर्ने र अन्य मुलुकको चासोलाई सम्बोधन गर्ने राजनीतिक इच्छाशक्ति चीनसँग छ कि छैन, मुख्य प्रश्न यही मात्र हो।

चाउसँग माओवादी विचारधाराबाट मुक्त भएर पञ्चशीलको सिद्धान्त स्वीकार गर्ने र उपनिवेशवादले दिएको साझा पीडालाई उजागर गर्ने यथार्थवादी दुरदर्शिता थियो। त्यसैगरी अमेरिकासँगको प्रतिस्पर्धाबाट जतिसुकै ठूलो चुनौती उत्पन्न भए पनि आज चीनले विश्व समुदायको चासोलाई ग्रहण र सम्बोधन गर्न सक्छ।

(साउथ चाइना मर्निङ पोस्टबाट)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति