राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने (यस्तो छ कार्यतालिका)

काठमाडौँ, २१ पुस। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ । सवारी साधन घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ ।

यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी लिने भएको छ । उम्मेदवार बन्न अयोग्य रहने कुनै कारण भए जोसुकैले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि आज विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारमाथिको उजुरी र मनोनयनपत्र उपर भोलि र पर्सी जाँचबुझ गर्ने आयोगको कार्यतालिका छ । २३ गते दिउँसो ३ बजेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । पुस २४ गते उम्मेदवारलाई नाम फिर्ता गर्न समय दिएको आयोगले २५ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।माघ १२ गते १९ पदका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मंगलबार सातै प्रदेशमा गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति