इस्लामाबाद, १९ पुस । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताउँदै अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतको नामै लिएर हिन्दूस्तानले सार्कलाई निष्क्रिय तुल्याएको टिप्पणी गरे ।विदेशमन्त्री कुरेसीले भने, ‘आगामी सार्क सम्मेलन इस्लामाबादमा गर्न पाकिस्तान आतुर छ ।
यदि भारत आउन चाहँदैन भने भर्चुअल्ली सहभागी हुनसक्छ । तर, बाँकी मुलुकलाई रोक्नु भएन । बाँकी सदस्यलाई आउन दिनुपर्यो ।’आफ्नो जिद्दिपन र हठ्धर्मिताले भारतले सार्कलाई निष्क्रिय तुल्याएको आरोप लगाउँदै पाकिस्तानी विदेशमन्त्रीले अन्य मुलुकलाई नभड्काउन आग्रह गरे ।
यसैमहिना सार्क महासचिवसँगको भेटमा कुरेसीले भारतको नाम नलिइकनै सार्क आयोजनामा कृत्रिम अवरोध हटाउनुपर्ने धारणा राखेका थिए ।पत्रकार सम्मेलनमार्फत नै विदेशमन्त्री कुरेसीले सार्क सदस्य मुलुकलाई निम्तो समेत दिए ।
यसअघि सन् २०१६ को नोभेम्बर १५ देखि १९ मा सार्क सम्मेलन इस्लामाबादमा गर्ने भनिएको थियो तर सेप्टेम्बर १८ मा जम्मु कस्मिरको उरीस्थित भारतीय सैनिकको क्याम्पमा आतंकवादी आक्रमण भएपछि त्यस पछाडि पाकिस्तानको हात रहेको भन्दै भारतले सार्कमा भाग नलिने निर्णय गरेको थियो ।
प्रतिक्रिया