नजरबन्द पश्चात पुनःबहाली भएका सुडानका प्रधानमन्त्रीद्धारा राजीनामा

खार्तुम, १९ पुस । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन् । उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकाे जनाइएको छ ।

सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ । राजनीतिक संकट थप बढ्दै गएका बेला उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामाकाे घोषणा गरेका छन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्री पदबाट मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’ मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्ने गर्ने बताए । गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो ।

सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका छन् । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक समेत लगाएको छ । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति