डाेटीमा हिमपातले किसान खुसी

डोटी, १८ पुस । लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले खुशी भएका हुन् ।

जिल्लाका उच्च लेकाली तथा आकासे पानीको भरमा खेती गरिएका ठाउँमा लगाइएका खेतीपातीका लागि बाक्लो हिमपातले प्रशस्त पानी पुगेकाले किसान रामाएका सायल गाउँपालिकाका तेजबहादुर सिंहले बताए । उनले भने, “पानी नहुँदा गहुँ बाली सुकेको थियो, अधिकाँश ठाउँका बाली कीराले खाइसकेको थियो, हिमपातले राम्रो सिँचाइ भएकाले अब गहुँलगायत खेती सप्रिने भएका छन् ।” लामो समयदेखि पानी नपरेका बेला हिमपातसँगैको वर्षाले यहाँका किसानले लगाएका गहुँ, तोरी, मसुरो, चनालगायत बाली तथा र आलु, काउली, बन्दालगायत तरकारी खेती राम्रो हुनाका साथै उत्पादनमा पनि वृद्धि हुने आशा पलाएको केआइसिंह गाउँपालिका–२ का किसान रुद्रलाल भट्टले जानकारी दिए । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाइएको बालीमासमेत वर्षाले राम्रो भएको उनकाे भनाइ थियो ।

गएको असोज महिनादेखि पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएका बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धि हुने र बेमौसमी वर्षाले राम्रो प्रभाव पारेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केही मात्रामा चिसो बढ्ने भएकाले थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको हिमपात र वर्षाले उत्पादनमा वृद्धि ल्याउने ज्ञान केन्द्रको अपेक्षा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति